सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरसहित यी ५ जिल्लामा धेरै भारी वर्षा

२०८३ भदौ १४, ०९:०३ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची जिल्लाका केही ठाउँका साथै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा भएको छ। २४ घण्टामा १०० मिलिमिटरदेखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ । कञ्चनपुरमा शनिबारदेखि बिहानसम्म वर्षा भइरहेको छ।

यस्तै, धादिङ र गोरखाको सीमा क्षेत्रमा पनि धेरै भारी वर्षा भएको छ । आरुघाटको स्टेशनमा १२४।४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। सोहो अवधिमा सिन्धुपोल्चोकमा १२३।२ र अर्घाखाँची ११५।२ मिलिमिटर वर्षा भएको पछिल्ला केही दिन सिन्धुपाल्चोकमा निरन्तर मध्यमदेखि धेरै भारी वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टामा लुम्बिनीको केही जिल्लाका साथै गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भएको छ। अन्य ठाउँमा मध्यमदेखि सामान्य वर्षा मापन भएको विभागको तथ्यांकमा उल्लेख छ। बिहान भने यी क्षेत्रमा वर्षा कम हुँदै गएको छ।

मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ। पछिल्ला २४ घण्टामा धेरै वर्षा भएका जिल्लामा रहेका नदी तथा खोलामा बाढीको जोखिम पनि बढेको छ। कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम रहेको विभागले जनाएको छ। ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सचेत गराइएको छ।

कमेन्ट लोड गर्नुस