बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन लगिँदै
काठमाडौंः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।
विपद् प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार र समन्वयमा कठिनाइ भएपछि सूचना प्रवाहलाई सहज र निरन्तर राख्न ती स्याटेलाइट फोन उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार उपलब्ध गराइएका स्याटेलाइट फोनहरूमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा तत्काल प्रयोग हुने गरी पठाइएको छ।
बाढीपहिरोले स्थलगत सञ्चार पूर्वाधारमा क्षति पुगेको संवेदनशील भूगोलमा स्याटेलाइट फोनको प्रयोगले खोज तथा उद्धार टोलीबीचको समन्वय र वस्तुस्थिति सम्प्रेषणलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।