सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवा बाढीपीडितका लागि कैलालीका मुस्लिम समुदायले गरे ३ लाख रुपैयाँ सहयोग

२०८३ भदौ १४, ०२:३६ खबर संवाददाता

धनगढीः रसुवामा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कैलालीका मुस्लिम समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ लाख रुपैयाँ सहयोग गरेका छन्।

कैलाली मुस्लिम समाज अत्तरिया, नुरी जामे मस्जिद पशुपतिटोल धनगढी र गौसिया जामे मस्जिद पुरानो भन्सार रोड धनगढीको पहलमा उक्त रकम संकलन गरिएको हो।

गत शुक्रबार जुमाको नमाजपछि बाढीपीडितको सहयोगार्थ अभियान सञ्चालन गरिएको थियो। अभियानमा संस्थागत तथा व्यक्तिगत रूपमा उल्लेखनीय रकम संकलन भएको थियो। सो अवसरमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विशेष प्रार्थनासमेत गरिएको थियो।

संकलित ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्युआरमार्फत जम्मा गरिएको हो। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक विस्थापित भएका छन्।

विपद्को कठिन घडीमा पीडितको घाउमा मलम लगाउने उद्देश्यले समुदायस्तरबाट सहयोग संकलन गरी कोषमा जम्मा गरिएको नुरी जामे मस्जिद पशुपतिटोल धनगढीका अध्यक्ष डा. मेराज आलम अन्सारीले बताए।

उनले विपद्का बेला सबै समुदायले आपसी एकता र सहकार्यका साथ हातेमालो गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए।

कमेन्ट लोड गर्नुस