सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीपछि धनगढीमा आयोजना हुने ‘सुदूरपश्चिम गाईजात्रा–२’ स्थगित

२०८३ भदौ १४, ०४:५० खबर संवाददाता

धनगढी: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि धनगढीमा आयोजना हुने भनिएको ‘सुदूरपश्चिम गाईजात्रा–२’ कार्यक्रम स्थगित गरिएको छ। बैजनाथ सञ्चार प्रा.लि. धनगढीको आयोजनामा यही भदौ १७ गते बुधबार धनगढीस्थित एसटिएस सिनेमा हलमा कार्यक्रम गर्ने तयारी गरिएको थियो।

आयोजकले देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै निर्धारित कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जनाएको छ। बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले उत्सवभन्दा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै कार्यक्रम रोकिएको आयोजकको भनाइ छ।

‘सुदूरपश्चिम गाईजात्रा–२’ मनोरञ्जनसँगै सामाजिक तथा समसामयिक विषयवस्तुमाथि व्यङ्ग्यमार्फत सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम थियो। आयोजकले विपद्को कठिन घडीमा उत्सवभन्दा मानवीय संवेदना र सामाजिक उत्तरदायित्व महत्वपूर्ण रहेको निष्कर्षसहित कार्यक्रम स्थगित गरिएको जनाएको छ।

कार्यक्रम स्थगित भएपछि सहभागी कलाकार, दर्शक, शुभेच्छुक, सहयोगी तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना गरेको छ। साथै, भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमको नयाँ मिति, समय तथा अन्य आवश्यक विवरण केही दिनभित्र सार्वजनिक सूचना तथा सञ्चारमाध्यममार्फत जानकारी गराइनेछ।

भोटेकोशी बाढीपछि विभिन्न सार्वजनिक तथा सांस्कृतिक कार्यक्रम स्थगित भइरहेका छन्। राष्ट्रिय स्तरमै बाढीको विपत्तिलाई ध्यानमा राखेर सांस्कृतिक कार्यक्रमहरू स्थगित गर्ने क्रम देखिएको छ।

कमेन्ट लोड गर्नुस