सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राध्यापक तारादत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रार नियुक्त

२०८३ भदौ १६, १०:४० खबर संवाददाता

काठमाडौँः प्राध्यापक डा. तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त भएका छन्। लामो समयदेखि उच्च शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय प्रशासनमा सक्रिय भट्टसँग शैक्षिक नेतृत्व र प्रशासनको करिब चार दशक लामो अनुभव छ।

भट्टले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय शिक्षा विभागका प्रमुख, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक तथा अनुसन्धान डिभिजनका प्रमुख लगायतका जिम्मेवारी सम्हालिसकेका छन्। केन्द्रीय शिक्षा विभागको नेतृत्व गर्दा उनले शैक्षिक कार्यक्रमको योजना तथा कार्यान्वयन, विभागीय प्रशासन, बजेट व्यवस्थापन, स्रोत परिचालन तथा जनशक्ति व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी, त्रिवि अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकका रूपमा उनले विश्वविद्यालयको अनुसन्धान रणनीति तथा योजना निर्माण, अनुसन्धानसम्बन्धी प्रशासन, अनुदान व्यवस्थापन, अनुसन्धान प्रस्तावको समीक्षा, बौद्धिक सम्पत्ति अधिकार तथा विभिन्न संस्थासँग सहकार्यको क्षेत्रमा काम गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालय जर्नल प्रकाशनको जिम्मेवारीसमेत सम्हालेका थिए।

भट्टले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर कार्यक्रम संयोजक, कार्यवाहक क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखका रूपमा समेत काम गरेका छन्। क्याम्पस प्रशासन, बजेट तथा स्रोत व्यवस्थापन, जनशक्ति व्यवस्थापन, शैक्षिक गुणस्तर, पूर्वाधार विकास र रणनीतिक योजनामा उनको अनुभव रहेको छ।

सुदूरपश्चिम विश्वविद्यालयसँग पनि उनको लामो शैक्षिक सम्बन्ध छ। उनी सन् २०७६ देखि विश्वविद्यालयको अंग्रेजी शिक्षा विषय समितिका अध्यक्ष तथा भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत थिए। हालै उनले विश्वविद्यालयको सेवा आयोगको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए। सेवा आयोग सदस्यका रूपमा विज्ञ छनोट, पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा शिक्षक–कर्मचारी नियुक्तिसम्बन्धी प्रक्रियामा संलग्न थिए।

भट्टले त्रिभुवन विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थीको अनुसन्धान निर्देशनसमेत गरेका छन्। उनले विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा निकायका लागि पाठ्यक्रम तथा पाठ्यक्रम सामग्री निर्माणमा योगदान दिएका छन्।

उनले सन् २००८ मा भारतको पञ्जाब विश्वविद्यालयबाट विद्यावारिधि, सन् २००३ मा डेनमार्कको ड्यानसि युनिभर्सिटी अफ एजुकेसनबाट एमफिल र त्रिभुवन विश्वविद्यालयबाट एमएड गरेका छन्।

शैक्षिक तथा प्रशासनिक नेतृत्व, अनुसन्धान व्यवस्थापन, योजना तथा वित्तीय प्रशासन, अंग्रेजी भाषा शिक्षा, द्विभाषिक तथा बहुभाषिक शिक्षा र सामग्री विकास उनका प्रमुख विशेषज्ञताका क्षेत्र हुन्। उनले नेपालसहित डेनमार्क, जर्मनी, फ्रान्स, नर्वे, स्वीडेन र अमेरिकामा शैक्षिक तथा व्यावसायिक गतिविधिमा सहभागिता जनाएका छन्।

भट्टका विभिन्न पुस्तक तथा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। उनले त्रिभुवन विश्वविद्यालय जर्नल तथा अन्य शैक्षिक जर्नलको सम्पादनसमेत गरेका छन्।

कमेन्ट लोड गर्नुस