धनगढीमा शुक्रबारदेखि निःशुल्क दन्त उपचार अभियान सुरु हुँदै
धनगढीः धनगढीमा आर्थिक अवस्था कमजोर भएका तथा दन्त उपचारको पहुँचबाट वञ्चित नागरिकलाई लक्षित गर्दै 'ब्याग्ज अफ होप' को आयोजनामा निःशुल्क दन्त उपचार अभियान सञ्चालन हुने भएको छ।
अभियान यसै शुक्रबारदेखि सुरु हुने जनाइएको छ। अभियानअन्तर्गत आवश्यकताअनुसार धनगढीका विभिन्न टोलमा पुगेर नागरिकको दन्त परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरिनेछ।
अभियानमा मुस्कान डेन्टलको प्राविधिक तथा स्वास्थ्य सेवासम्बन्धी सहयोग रहनेछ।
ब्याग्ज अफ होपका अध्यक्ष नीतिश जोशीले दन्त स्वास्थ्यलाई नागरिकको आधारभूत स्वास्थ्यसँग जोड्दै आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको बताए।
आफ्नो टोलमा समेत निःशुल्क दन्त उपचार अभियान सञ्चालन गर्न चाहने नागरिक तथा टोलवासीलाई आयोजकसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
'सेवा पहुँचमा होइन, आवश्यकतामा आधारित हुनुपर्छ' भन्ने उद्देश्यसहित अभियान अघि बढाइएको हो।