स्वर्गीय आमाको स्मृतिमा मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख ११ हजार सहयोग
महेन्द्रनगरः स्वर्गीय आमाको स्मृतिमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले मल्लले आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठानमार्फत उक्त रकम कोषमा जम्मा गरेका हुन्।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद् तथा संकटका समयमा सहयोग गर्दै आएका छन्। यसअघि कोभिड–१९ महामारीका बेला पनि मल्लकै पहलमा महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन उपलब्ध गराएर धेरैको ज्यान जोगाउन सक्रिय भूमिका खेलेका थिए।
कोरोना महामारीको पहिलो चरणमा भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने नागरिकका लागि भोजन व्यवस्थापनमा समेत उनले सहयोग गरेका थिए।
पछिल्ला केही वर्षयता मल्लले राजुदेवी मल्ल स्मृति प्रतिष्ठानमार्फत विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आएका छन्।
मल्लले विपद्को समयमा प्रभावित नागरिकलाई राहत पुर्याउन सबैले आ–आफ्नो तर्फबाट हातेमालो गर्नुपर्ने बताए। उनले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोगी हातहरू अघि बढ्नुपर्नेमा जोड दिए।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय मल्ल कञ्चनपुरका सफल युवा व्यवसायीका रूपमा समेत परिचित छन्।