नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न
बैतडी: भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ।
बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद, समन्वय र स्थापित संयन्त्रमार्फत समाधान गर्ने तथा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ।
सीमा क्षेत्रमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, व्यापार सहजीकरण तथा पूर्वाधार मर्मत र निर्माणलगायतका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदानप्रदान गर्ने सहमति भएको उनले जानकारी दिए। सीमा आवागमनलाई सहज र प्रभावकारी बनाउने विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको थियो।
“बाढीपहिरो तथा आकस्मिक बाढीको जोखिम नेपाल–भारत दुवैतर्फ नै छ”, प्रजिअ अर्यालले भने, “विपद् व्यवस्थापनका लागि सूचना आदानप्रदान गर्ने साझा संयन्त्र निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ।” बैठकमा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म थप सुदृढ गर्दै सीमा समन्वय बैठकलाई निरन्तरता दिने विषयमा सहमति भएको जानकारी दिइएको छ।
बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा बैतडी र दार्चुला जिल्लाका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। भारतको तर्फबाट पिथौरागढ जिल्लाका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधि सहभागी रहेको जानकारी दिइएको छ।