सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपीडितका लागि धनगढी–४ का डिल्ली नेपालीको एक लाखभन्दा बढी सहयोग

२०८३ भदौ १७, १२:५२ खबर संवाददाता

धनगढीः भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि धनगढी–४ का स्थानीय व्यवसायी डिल्ली नेपालीले एक लाख एक हजार ११५ रुपैयाँ सहयोग गरेका छन्।

नेपालीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्दै बाढीपीडितको सहयोगका लागि आफ्नो तर्फबाट सक्दो योगदान गरेका हुन्।

धनगढी–४, बोराडाँडीमा शैलेश्वरी अटो सप्लायर्स सञ्चालन गर्दै आएका नेपालीले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताए।

'संकटको घडीमा पीडितलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट सानो सहयोग गरेको हुँ,' नेपालीले भने।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेको छ। यही अभियानमा नेपालीले गरेको योगदानले विपद्को समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

पीडितको दुःखमा मल्हम लगाउने उद्देश्यले गरिएको यस्तो सहयोगले विपद्को समयमा समाजमा एकअर्काप्रतिको सहयोग र सहकार्यको भावना अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस