सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपीडितको राहतका लागि एलाइन्स इन्टरनेशनल मोडेल स्कुलद्वारा सहयोग

२०८३ भदौ १७, ०३:५३ खबर संवाददाता

धनगढी: भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले धनगढीस्थित एलाइन्स इन्टरनेशनल मोडेल स्कुलले १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ आर्थिक राहत सहयोग गरेको छ।

बाढी प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले विद्यालयका शिक्षक - शिक्षिका, कर्मचारी, विद्यार्थी तथा विद्यालय परिवारको तर्फबाट उक्त रकम सहयोग गरिएको विद्यालयले जनाएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो।

विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व हो भन्ने भावनाका साथ विद्यालय परिवारले स्वस्फूर्त रूपमा राहत स्वरुप सहयोग गरेको छ । 

बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै एलाइन्स इन्टरनेशनल मोडेल स्कुलले पीडित अर्थात प्रभावित सम्पूर्ण परिवारप्रति ऐक्यबद्धता प्रकट गरेको छ। साथै, उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट भइरहेको मानवीय सहयोग र प्रयासप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।

विद्यालयले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित नागरिकहरू चाँडै सुरक्षित र सामान्य जनजीवनमा फर्किन सक्ने वातावरण निर्माण होस् भन्ने कामना समेत गरेको छ।

कमेन्ट लोड गर्नुस