रसुवाका बाढीपीडितलाई एसपीए कलेजका विद्यार्थीहरूले गरे राहत सामग्री सहयोग
धनगढी: रसुवामा बाढीबाट प्रभावित परिवार तथा बालबालिकाका लागि एसपीए कलेजका विद्यार्थीहरूले राहत सामग्री सहयोग गरेका छन् ।
विद्यार्थीहरूले आफ्नो क्षमताअनुसार आवश्यक सामग्री संकलन गरी बाढीपीडित परिवारलाई सहयोग गरेका हुन् । मानवीय तथा सामाजिक सेवाको भावनासहित विद्यार्थीहरूले विभिन्न खाद्यान्न, बालबालिकाका कपडा तथा दैनिक उपभोग्य सामग्री संकलन गरेका छन् ।
एसपीए कलेजका विद्यार्थीहरूको तर्फबाट बालबालिकाका कपडा २० जोडी, चप्पल ३२ जोडी, ग्लुकोज १२ पिस, मिल्क पाउडर १० प्याकेट, बालबालिकाका डायपर २५ दर्जन, टिस्यु पेपर १० पोका, खाने भुजा १५ पोका, चिउरा ६ पोका, चाउचाउ १ पेटी, पेन १ प्याकेट र बिस्कुट २ दर्जन सहयोग गरिएको छ ।
विद्यार्थीहरूले विपद्का बेला प्रभावित परिवारलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले राहत सामग्री संकलन गरिएको बताएका छन् ।
उनीहरूले आफ्नो यस मानवीय प्रयासलाई थप प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सहयोगसम्बन्धी जानकारी तथा तस्बिरहरू सञ्चारमाध्यममार्फत सार्वजनिक गरिदिन अनुरोधसमेत गरेका छन् ।
विद्यार्थीहरूले सानो प्रयास भए पनि विपद्का बेला पीडित परिवार तथा बालबालिकालाई केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।