चीनको तिब्बतले नेपाललाई दुइटा बेलीब्रिज दियो
काठमाडौँः चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाललाई दुईवटा बेलीब्रिजका सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार ल्हासामा आयोजित कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उपमहानिर्देशक ओयाङ झिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरी एकअर्कालाई आदानप्रदान गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ ।
हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न नेपाली महावाणिज्यदूतावासले तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग ३० वटा बेलीब्रिज उपलब्ध गराउन अनुरोध गरेको थियो । सोहीअनुसार तिब्बत सरकारले शुक्रबार १०० मिटर लम्बाइका दुईवटा बेलीब्रिजका सामग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रम ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा भएको थियो । ती सामग्री शुक्रबार नै माथिल्लो मुस्ताङको कोरला (लिजी) नाकामा आइपुगेका छन् । नेपाली पक्षले शनिबार ती सामग्री बुझ्नेछ ।
पुल जडानलाई प्रभावकारी र सहज बनाउन चीनले प्राविधिक जनशक्ति पनि उपलब्ध गराएको छ । चिनियाँ प्राविधिकहरू चाँडै नेपाल आउने महावाणिज्यदूतावासले जनाएको छ ।
बेलीब्रिजका सामग्रीमा बेली प्यानल, स्टिफेनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल र पाइप वेल्डिङलगायत छन् ।