सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘ऋषिकुल’ वेलनेस सेन्टर सञ्चालनमा

२०८३ भदौ २०, ०२:४८ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिका–५ सत्कार चोक नजिक ‘धनगढी अर्गानिक एन्ड वेलनेस सेन्टर’ सञ्चालनमा आएको छ। ‘ऋषिकुल’को अधिकृत वेलनेस सेन्टरका रूपमा सञ्चालनमा आएको केन्द्रले स्वस्थ जीवनशैली, शारीरिक स्फूर्ति तथा प्राकृतिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न सेवा उपलब्ध गराउने जनाएको छ।

बसन्ती बिष्ट र जयन्ती भट्ट बिष्टको सहकार्यमा सञ्चालनमा ल्याइएको सेन्टरको शनिबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो। यद्यपि, सेन्टरले करिब एक महिनादेखि सेवा दिँदै आएको सञ्चालकले बताएका छन्।
सेन्टरमा डिटक्स फुट स्पा, तौल व्यवस्थापन, एक्युप्रेसर, सौना बाथ, मसाज, नर्भ थेरापी, स्मार्ट मसाज, स्टिम थेरापी तथा परामर्शलगायतका सेवा उपलब्ध छन्। ‘बीसीएम’ र ‘एसिएस’ मेसिनमार्फत रक्तसञ्चार तथा एक्युप्रेसरसँग सम्बन्धित सेवा प्रदान गरिने जनाइएको छ।

सेवा लिएका केही सेवाग्राहीले लामो समयदेखि विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल तथा अन्य उपचार केन्द्रमा पुग्दा पनि अपेक्षित राहत नपाएको अवस्थामा यहाँका सेवाबाट आफूलाई राहत मिलेको अनुभव सुनाएका छन्।

कतिपयले धेरै ठाउँमा महंगो उपचार गराएको तर सोचे अनुसार समाधान नभएको बताए । टाढाका ठाउँ धाउनुपर्ने बाध्यताको आफ्नै प्रदेशमा मिल्दा सुखद भएको सेवाग्राहीको भनाइ छ ।

सेन्टरका सञ्चालक बसन्ती बिष्टले आधुनिक जीवनशैलीका कारण मानिसमा शारीरिक सक्रियता घट्दै गएकाले स्वस्थ तथा सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले वेलनेस सेन्टर सञ्चालनमा ल्याइएको बताइन्। उनका अनुसार प्राकृतिक जीवनशैली, खानपान र शारीरिक स्फूर्तिसम्बन्धी सचेतनालाई पनि केन्द्रले प्राथमिकता दिएको छ।

अर्की सञ्चालक जयन्ती भट्ट बिष्टले वेलनेस सेवाले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन सहयोग पुर्‍याउने बताइन्। उनले अस्पतालमा उपचार आवश्यक पर्ने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको परामर्शलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीएल शाहले अस्वस्थ खानपान तथा बदलिँदो जीवनशैलीका कारण मानिसमा विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको बताए। उनले प्राकृतिक तथा अर्गानिक खाद्यवस्तुको प्रयोग र नियमित शारीरिक सक्रियतामा ध्यान दिनुपर्नेमा जोड दिए।

कम्पनीका अनुसार पछिल्लो १२ वर्षदेखि नेपालका विभिन्न स्थानमा दुई सयभन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। धनगढीमा सञ्चालनमा आएको सेन्टरले पनि स्वस्थ जीवनशैलीप्रति मानिसलाई सचेत गराउँदै वेलनेससम्बन्धी सबै सेवा विस्तार गर्ने जनाएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस