हान सुदूरपश्चिम अध्यक्षमा भट्ट
धनगढी: होटल सङ्घ नेपाल (हान) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाशचन्द्र भट्ट चयन भएका छन्।
शनिवार कैलालीको धनगढीमा सम्पन्न प्रथम साधारणसभाले भट्टको नेतृत्वमा १५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगदीशचन्द्र भट्ट, उपाध्यक्षमा प्रमानन्द भण्डारी, महासचिवमा पथेकबहादुर शाह चयन भएका छन्।
यसैगरी, कार्यसमिति सदस्यमा पदमविक्रम सिंह, नरेन्द्र खड्का, भुवनसिंह भण्डारी, चन्द्रप्रकाश ओली र वसन्ता भण्डारी, शारदा शाह, पशुपति कुँवर, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता र दीपेन्द्र शाह चयन भएका छन्। कार्यसमितिमा निवर्तमान अध्यक्ष दिनेशराज भण्डारीसमेत रहेका छन्।
यसअघि, उद्घाटन समारोहमा सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीले उठाएका माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय भएकाले प्रदेश सरकारले गम्भीरताका साथ सम्बोधन गर्ने बताए। उनले होटल व्यवसाय पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र प्रदेशको अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै होटल तथा पर्यटन व्यवसायको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताए।
निजी क्षेत्रको लगानीको सुरक्षा र व्यवसाय सञ्चालनमा आवश्यक सहजीकरणका लागि प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध माछा र पानीको जस्तै हुनुपर्ने बताए। सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सहकार्य र साझेदारीबाट मात्रै प्रदेशको आर्थिक विकासले गति लिनसक्ने उनको भनाइ थियो। सुदूरपश्चिम पर्यटन, कृषि, जलस्रोत, उद्योगलगायतका क्षेत्रमा ठूलो सम्भावना भएको प्रदेश रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले ती सम्भावनालाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्न निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए।