सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेन्जी आन्दोलनमा कैलाली कारागारबाट भागेका २०२ कैदीबन्दी अझै फरार 

२०८३ भदौ २३, ०२:५२ खबर संवाददाता

धनगढी: जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका १९ भारतीय नागरिकसहित २०२ कैदीबन्दी अझै फरार रहेका छन्। आन्दोलनका क्रममा कारागारमा तोडफोड भएपछि गत वर्ष भदौ २४ गते ६६५ कैदीबन्दी कारागारबाट बाहिरिएका थिए।

कारागारका अनुसार हालसम्म ४६३ कैदीबन्दी कारागार फर्किसकेका छन्। फर्केकामध्ये कतिपयले बाँकी कैद भुक्तान गरी छुटिसकेको निमित्त जेलर वसन्त जोशीले जानकारी दिए।

आन्दोलनका क्रममा कारागारमा रहेका कुल ६६७ कैदीबन्दीमध्ये एक जना बिरामी भएर अस्पतालमा भर्ना भएका र अर्का एक जना कारागारमै बसेका थिए। बाँकी कैदीबन्दी भने कारागारबाट बाहिरिएका थिए।

फरार कैदीबन्दीलाई कारागार फर्कन जिल्ला प्रशासन कार्यालयले आग्रह गर्दै आएको छ। प्रहरीले समेत फरार कैदीबन्दीको खोजी गरिरहेको जनाएको छ।

यसैबीच, आन्दोलनका क्रममा क्षतिग्रस्त कारागार प्रशासन कार्यालयको मर्मत गरिएको छ। कारागारको बाहिरी सुरक्षाका लागि ठूलो पर्खाल निर्माण गरिएको छ भने कैदीबन्दी राख्ने नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया पनि अघि बढाइएको निमित्त जेलर जोशीले बताए।

जघन्य अपराधमा संलग्न भएर फरार भएका कैदीबन्दी अझै सम्पर्कमा नआएको जनाइएको छ। फरारमध्ये भारतीय नागरिकसमेत रहेकाले उनीहरूको खोजीका लागि प्रहरीले आवश्यक प्रयास गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस