सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी घरपरिवार प्रभावित

२०८३ भदौ २३, ०५:३९ खबर संवाददाता

बैतडी: निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।

पुर्चौडीमा पहिरो खस्दा पाँच घरमा क्षति पुगेको छ भने ३५ घर उच्च जोखिममा परेका छन् ।

सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका–५ र ६ का ७० घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । चमेलिया नदीमा आएको बाढीका कारण डिलासैनी गाउँपालिका–१ का १५ घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।

लगातारको वर्षाका कारण डोजरले खनेको सडकमा पहिरो खस्दा पुर्चौडी नगरपालिका–५, कुवाकोटस्थित पार्की टोलमा पाँच घरमा क्षति पुगेको छ । ३५ घर जोखिममा परेको स्थानीय किरण पार्कीले बताए ।

पहिरोका कारण किशोर कुँवर, कैलो पार्की र नरे पार्कीको घरमा पूर्ण क्षति पुगेको छ भने दानी पार्की र नवीन पार्कीको घर वरिपरिबाट पहिरो खसेको उनले बताए । विस्थापित परिवार कहाँ गएर बस्ने भन्ने चिन्ता रहेको उनले बताए ।

पहिरोका कारण पुर्चौडी नगरपालिका जोड्ने मुख्य सडक ढोल्यामोडमा अवरुद्ध भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् । नदी कटान तथा बाढीपहिरोका कारण जिल्लाका सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकामा एक सयभन्दा बढी घरपरिवार प्रभावित भएको उनले जानकारी दिइन् ।

बाढीपहिरो र नदी कटानका कारण प्रभावित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन स्थानीय तहसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

उनले भनिन्, “अहिलेसम्म मानवीय क्षति नभए पनि मानिसहरू प्रभावित भएका छन् । उद्धार र राहतका लागि जिल्ला सुरक्षा समितिले सबैतिर समन्वय गरिरहेको छ ।”
 

कमेन्ट लोड गर्नुस