तनुज चौधरी हत्या प्रकरण : तीन महिना पुग्न लाग्दा पनि अन्य आरोपितमाथि अनुसन्धान नभएको परिवारको गुनासो
धनगढी: धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनीस्थित मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या भएको तीन महिना पुग्न लाग्दा पनि घटनामा संलग्न अन्य व्यक्तिमाथि कानुनी प्रक्रिया अघि नबढेको परिवारले गुनासो गरेको छ।
घटनामा प्रहरीले एक जनालाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरे पनि छिमेककै अन्य केही व्यक्तिको समेत संलग्नता रहेको परिवारको दाबी छ। तनुजका आमाबाबुले एक जनाविरुद्ध मात्रै किटानी जाहेरी दिएको र सोही आधारमा प्रहरीले मुख्य आरोपितलाई नियन्त्रणमा लिएको परिवारको भनाइ छ।
परिवारका अनुसार गत असार १० गते तनुज रोपाइँ सकेर घर फर्किएपछि साइकल लिएर बाहिरिएका थिए। छिमेकका व्यक्तिले उनलाई रोपाइँ भइरहेको खेतमा लगेका थिए। त्यहाँ केही खानेकुरा बनाएर खाएपछि साँझ करिब ५ बजे छिमेकका दुई जनाले जंगलको बाटो हुँदै घर पुर्याइदिने भन्दै तनुजलाई आफूसँगै लगेको परिवारले बताएको छ।
त्यसपछि तनुज परिवारको सम्पर्कमा आएका थिएनन्। उनी घर नफर्किएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए। खोजीका क्रममा असार १२ गते धनगढी उपमहानगरपालिका–१७ र गौरीगंगा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने कालिका सामुदायिक वनभित्र तनुजको शव फेला परेको थियो।
शव भेटिएको स्थान नजिकै तनुजले प्रयोग गर्ने साइकल र चप्पलसमेत फेला परेका थिए। घटनास्थलमा रगत लागेको ढुंगा पनि भेटिएको प्रहरीले जनाएको थियो। शवको अवस्था र शरीरमा देखिएको चोटपटकका आधारमा प्रहरीले घटना हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा तनुजले लगाएको सुनको मुन्द्रा शवमा नभेटिएपछि प्रहरीको अनुसन्धान लुटपाटको कोणतर्फ समेत केन्द्रित भएको थियो। पछि उक्त सुनको मुन्द्रा घटनाका मुख्य अभियुक्तको घरबाट बरामद भएको प्रहरीले जनाएको थियो।
प्रहरीका अनुसार असार २२ गते गौरीगंगा नगरपालिका–६ का २५ वर्षीय खेमराज कठायत ‘खगेन्द्र’लाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरिएको थियो। भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा धनगढी–२ स्थित भन्सार रोडबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
प्रहरी अनुसन्धानअनुसार तनुजलाई जंगलतर्फ लगेर ढुंगा प्रहार गरी हत्या गरिएको र त्यसपछि कानमा लगाएको सुनको मुन्द्रा निकालिएको हुनसक्ने देखिएको थियो। मुन्द्रा अभियुक्तको घरबाट बरामद भएपछि अनुसन्धान उनीतर्फ केन्द्रित भएको प्रहरीले जनाएको छ।
तर, तनुजको परिवार भने घटनामा एक जना मात्र संलग्न नभएको दाबी गर्दै आएको छ। छिमेककै केही व्यक्तिले घटनाबारे जानकारी पाए पनि आफूहरूलाई लुकाइएको तनुजकी आमाको गुनासो छ।
परिवारले पटक–पटक सुरक्षा निकायसमक्ष घटनाको थप अनुसन्धान र अन्य शंकास्पद व्यक्तिमाथि छानबिन गर्न आग्रह गरे पनि चित्त बुझ्दो जवाफ नपाएको जनाएको छ। एक जनालाई मात्रै कानुनी प्रक्रियामा ल्याएर अन्य शंकास्पद व्यक्तिमाथि अनुसन्धान नगरिँदा आफूहरू थप शंकित बनेको परिवारको भनाइ छ।
लामो समय बितिसक्दा पनि आफूहरूले चाहेअनुसार पूर्ण न्याय नपाएको भन्दै परिवारले घटनाको पुनः अनुसन्धान गर्न माग गरेको छ। पहुँचका आधारमा घटनालाई अपूर्ण रूपमा टुंग्याउन खोजिएको हुनसक्ने आशंका गर्दै परिवारले निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेको हो।
‘तनुजको जस्तै घटना अन्य बालबालिकामाथि पनि दोहोरिन सक्छ’ भन्ने चिन्ता रहेको भन्दै परिवारले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर दोषीमाथि कारबाही गर्न माग गरेको छ। साथै, नयाँ सरकारले आफूहरूको न्यायको माग सम्बोधन गर्न सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।
परिवारले घटनाको पुनः अनुसन्धान गरी तनुजको मृत्युको वास्तविक कारण र घटनामा संलग्न सबै व्यक्तिको पहिचान गर्नुपर्ने माग गरेको छ।
यता, प्रहरीले भने उपलब्ध प्रमाण र अनुसन्धानका आधारमा मुख्य अभियुक्तलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषय अनुसन्धानबाटै पुष्टि हुने भएकाले अदालतबाट दोष प्रमाणित नभएसम्म आरोपितलाई दोषीका रूपमा प्रस्तुत गर्न नमिल्ने कानुनी व्यवस्था छ।