सवारी दुर्घटनाले कञ्चनपुरमा चार वर्षमा १५८ जनाको ज्यान लियो
कञ्चनपुर: कञ्चनपुरमा चार वर्षको अवधिमा एक हजार भन्दा बढी सवारी दुर्घटना हुँदा १५८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० देखि हालसम्म जिल्लामा एक हजार २०५ सवारी दुर्घटनामा परेको जनाएको हो । कार्यालयका अनुसार सो अवधिमा सवारी दुर्घटनामा परेर एक हजार ८८५ मानिस घाइते भएका थिए भने १५८ जनाले ज्यान गुमाएका छन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७९/८० मा ६३ सवारी दुर्घटना हुँदा ५९ जना घाइते भएका थिए भने ४३ जनाको ज्यान गएको थियो । त्यसै गरेर आव २०८०/८१ मा ५६ सवारी दुर्घटना हुँदा ७४ जना घाइते भएका थिए भने ३२ मानिसको ज्यान गएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा ४५२ सवारी दुर्घटना हुँदा ७७३ जना घाइते भएकामा ३८ जनाले ज्यान गुमाएका थिए । आव २०८२/८३ मा ५६४ सवारी दुर्घटनामा परेका थिए । जसमध्ये गत आवमा ८७८ मानिस घाइते भएकामा ४१ जनाले ज्यान गुमाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले बताए।
त्यसैगरी चालु आर्थिक वर्षको हालसम्म ७० सवारी दुर्घटना हुँदा १०१ जना घाइते भएका थिए भने चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा आठ हजार ३०१ जना सवारीचालकमाथि कारबाहीसमेत गरिएको जनाएको छ । कार्यालयले नियम उल्लङ्घन गरी सवारी चलाएको भन्दै उनीहरूबाट ६९ लाख १४ हजार पाँच सय रुपियाँ जरिबानासमेत असुल गरिएको जनाएको छ ।
त्यसै गरेर चालु आवको हालसम्म एक हजार ९०८ सवारीचालक कारबाहीमा परेका छन् । उनीहरूबाट ट्राफिक प्रहरीले १३ लाख पाँच हजार रुपियाँ जरिबाना असुल गरिएको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा दुई चालकको सवारीचालक अनुमतिपत्र खारेजीका लागि सिफारिस गरिएकोसमेत जनाएको छ । सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८० को नियम २७ को (घ) बमोजिमको कसुर मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारीसाधन चलाउने दुई जनाको सवारीचालक अनुमतिपत्र खारेजीका लागि यातायात व्यवस्था कार्यालय महेन्द्रनगरलाई सिफारिस गरिएको सो कार्यालयका प्रमुख प्रहरी निरीक्षक नाथले बताए।
गत महिनामा ठुलो आवाज निकाल्ने चार मोटरसाइकलचालकमाथि पनि कारबाही गरिएको जनाइएको छ । यसका साथै गत साउन महिनामा क्षमताभन्दा बढी इँटा ओसारपसार गर्ने से १ त ३५०५ नम्बरको ट्याक्टरलाई पल्टी गरेर खाली गर्न लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्लो समय ट्राफिक प्रहरीले मापसे परीक्षणको कार्यलाई समेत निरन्तरता दिँदै आएको छ । कार्यालयका अनुसार गत साउन महिनामा लागुऔषध सेवन प्रयोग गरेर सवारीसाधन चलाउने विङ्गरचालक, विद्युतीय हाइस, अटो र मोटरसाइकलचालक गरेर पाँच जनालाई कारबाही गरिएको छ ।
सवारीसाधन चलाउँदा क्षमताभन्दा बढी यात्रु नराख्न तथा मापसे सेवन गरेर सवारी नहाँक्न समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नाथले आग्रह गरे।