सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरितालिका तीज आज: शिव–पार्वतीको पूजा आराधनासहित व्रत बस्दै हिन्दू महिला

२०८३ भदौ २९, ०९:१७ खबर संवाददाता

धनगढी: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज भगवान् शिवको पूजा–आराधना तथा व्रत बसेर मनाइँदैछ। धार्मिक मान्यताअनुसार यस दिन शिव–पार्वतीको पूजा तथा उपासना गरी व्रत बसेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास गरिन्छ।

पौराणिक कथाअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी भगवान् महादेवलाई पति रूपमा प्राप्त गर्ने वरदान पाएकी थिइन्। पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग समस्या सुनाइन्।

पार्वतीको समस्या बुझेपछि उनका साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत तथा तपस्या गरी भगवान् महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ।

पार्वतीलाई उनका साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया रहेकाले सोही दिनदेखि हरितालिका तीजको व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ। संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट बनेको ‘हरितालिका’को अर्थ क्रमशः हरण गरिएको र साथी भन्ने हुन्छ।

सत्ययुगमा पार्वतीले आजकै दिन निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको विश्वासका आधारमा तीजको व्रत बस्दा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ।

कमेन्ट लोड गर्नुस