सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा पक्षको छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय

२०८३ भदौ २९, ०१:२४ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको संस्थापन इतर समूहको बैठकले सानेपाबाट तय गरिएको महाधिवेशन प्रक्रियामा सहभागी हुन सक्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै छुट्टै ढंगले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

यसअघि कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेको थियो।

तर, संस्थापन इतर समूहले आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेको दाबी गरेको छ। बैठकले नेता उमाकान्त चौधरीले यसअघि प्रस्ताव गरेको १५औँ महाधिवेशनको कार्यतालिकालाई आधार बनाएर प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ।

बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयबारे अनौपचारिक छलफल भएको र सोमबार दिउँसो ४ बजे पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए।

यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा सामेल हुन चाहने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यकै हैसियतमा स्वागत गर्दै जिम्मेवारी दिने निर्णय गरेको थियो।
 

कमेन्ट लोड गर्नुस