सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर ज्ञानेन्द्र शाहीले भने, ‘हामीले दोहोरो चरित्र देखायौँ, जनताले पत्याएनन्’

२०८३ भदौ ३०, ०४:१८ खबर संवाददाता

धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले पार्टीलाई सही ढंगले सञ्चालन गर्न नसक्दा त्यसको परिणाम निर्वाचनमा भोग्नुपरेको बताएका छन्। मंगलबार कैलालीमा आयोजित राप्रपाको सातौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शाहीले पार्टीले जनभावना र जनताको अपेक्षालाई नजिकबाट नियाल्न नसकेको बताए।

“हाम्रो एजेण्डा स्थगीत भएको छैन, हामी जुन बाटोमा हिँडेका छोँ, हामीले पार्टीलाई सहि ढङ्गले चलाउन सकेनौँ र त्यसको परिणाम निर्वाचनमा भोग्नु पर्यो। जनभावना र अपेक्षलाई नजिकबाट नियाल्न सकेनौँ,” उनले भने।

पार्टीका अन्य नेताहरूप्रति आक्रोश व्यक्त गर्दै शाहीले निर्वाचनमा जमानत जफत भएका नेताहरूलाई पार्टीमा पद चाहिएको बताए। “चुनावमा जादा जमानत नफत भएका नेताहरुलाई पार्टीमा पद चाहिएको छ। हामीले जनताले नपत्याएका नेता उम्मेदवार बनायौँ त्यसैले जनताले भोट दिएनन्,” उनले भने।

उनले अब नयाँ राजनीतिक मोर्चाबन्दीको आवश्यकता रहेको बताए। “अब एउटा मोर्चाबन्दिको आवश्यकता छ। जनताको अपेक्षा अब पुराना दलबाट हुदैन नयाँ शक्ति चाहिन्छ भन्ने थियो तर हामीले तिनै पुराजा दलसंग गठबन्धन गर्यौँ,” शाहीले भने।

शाहीले राप्रपाले प्रदेश संरचनाबारे दोहोरो चरित्र देखाएको आरोप लगाए। “हामीले द्वैद चरित्र देखायौँ, प्रदेश संरचना खारज हुनुपर्छ भनिराख्या छौँ, र प्रदेशको सांसद पनि लडाइराख्या छौँ, कित प्रदेशको संरचना खारेज हुँदैन भनौँ, हुन्छ भनेपछि किन लडायौँ,” उनले भने।

“केन्द्रमा प्रदेश सांसदको काम भनेको राष्ट्रपतिलाई भोट हाल्ने मात्र हो। जुन व्यवस्था हामीलाई चाहिएकै छैन, हामीलाई त राजा चाहिएको हो। प्रदेश संरचना खारेज खर्छौँ भनेर पार्टीको विधानमा लेखिसकेपछि हामीले दोहोरो चरित्र देखाउनु हुँदैन,” शाहीले बताए।

उनले राप्रपाको दोहोरो चरित्रका कारण जनताले पार्टीलाई विश्वास नगरेको बताए। “हामीले हिन्दुराष्ट्र बनाउने भनेर इशाइलाई सांसद बनायौँ, त्यसैले हिन्दुहरुले पनि हामीलाई पत्याएनन्। हामी जनताको दैनिक जीवनसंग जोडिन सकेनौँ अब समीक्षा गर्नेबेला आइसकेको छ,” उनले भने।

शाहीले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा जनमत संग्रह गराउनुपर्ने धारणा राख्दै पार्टीले आफ्ना एजेण्डा र विगतका निर्णयबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस