सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ भव्यताका साथ मनाउने निर्णय गरेको छ।
मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवसलाई प्रदेशभर विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको हो। बैठकले मुख्यमन्त्री भट्टको अध्यक्षतामा विभिन्न पदाधिकारी सम्मिलित २३ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको छ।
बैठकको निर्णयअनुसार असोज २ गते प्रदेशका सबै मन्त्रालय, सरकारी निकाय, कार्यालय तथा स्थानीय तहले आ–आफ्नो कार्यालय, सांस्कृतिक तथा सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा र दिवस केन्द्रित ब्यानर राखी सजावट गर्ने, गाउँ तथा नगरको श्रृङ्गार एवं सरसफाइ गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी असोज ३ गते बिहान ७ बजे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मूल समारोह आयोजना गरिने भएको छ। मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री तथा राज्यमन्त्रीहरू, सचिवहरू, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सार्वजनिक तथा संघ–संस्थाका प्रतिनिधि लगायत सर्वसाधारणको सहभागिता रहनेछ।
संविधान दिवस तथा राष्ट्रिय दिवसलाई सुदूरपश्चिम प्रदेशका सबै जिल्ला, स्थानीय तह तथा जनस्तरसम्म राष्ट्रिय दिवसका रूपमा भव्यताका साथ मनाउने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले दिवसलाई उत्सवका रूपमा मनाउँदै संविधानको महत्व, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय एकता र नागरिक सहभागिताको भावना थप सुदृढ गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।