सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाललाई कुबाटोमा धकेल्न विभिन्न शक्तिहरू सक्रिय छन् : केपी ओली

२०८३ असोज ३, १२:५७ खबर संवाददाता

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् ।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले यस्ते आरोप लगाएका हुन् । ‘केही नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्,’ उनले भने, ‘देखिएरै गरेका छन् । आश्चर्य लाग्ने तरिकाले गरेका छन् ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले २१ फागुनमा सम्पन्न निर्वाचनका माध्यमबाट नेपाललाई कुबाटोमा धकेल्ने कोसिस गरेको आरोपसमेत लगाए । ‘हामीले देखेका छौं । मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर, अल्मल्याएर, गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस ग¥यो,’ उनले भने, ‘यो भन्न अप्ठ्यारो मान्न पर्दैन ।’

पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक विधि–प्रक्रिया र प्रणालीबाट चल्ने कुराहरूलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ मा षडयन्त्रपूर्ण उपद्रवको आयोजना गरिएको दाबीसमेत गरे । ‘संविधान भनेको देशको मूल कानुन, त्यसअनुसार चल्ने चलाउने लोकतान्त्रिक विधि–प्रक्रिया, प्रणालीबाट चल्ने कुराहरुलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ को षडयन्त्रपूर्ण उपद्रवको आयोजना गरियो नेपालमा,’ उनले भने ।

अध्यक्ष ओलीले भदौ २३ र २४ को आन्दोलनमा संलग्नहरूका बारेमा खुल्दै गएकोसमेत जिकिर गरे । ‘को–को संलग्न थिए, के–के संलग्न थिए, त्यसबारे खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्,’ उनले भने, ‘अहिले मैले धेरै केही भनिरहनु पर्दैन ।’

अध्यक्ष ओलीले संविधान जारी भएपछिका पछिल्ला वर्षहरूमा अनेक चुनौतीहरूको सामना गरेर संविधानको रक्षा र कार्यान्वयन गर्दै गएको पनि बताए ।


 

कमेन्ट लोड गर्नुस