महाधिवेशन तालिकालाई लिएर डडेल्धुरा कांग्रेसमा मतभेद, वडा अधिवेशन रोक्न उपसभापतिको अपिल
डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुरामा १४औँ महाधिवेशनका बाँकी अधिवेशनको कार्यतालिका कार्यान्वयन र पार्टीभित्रको आन्तरिक एकताको विषयलाई लिएर मतभेद देखिएको छ।
जिल्ला कार्यसमितिका सभापति भीमबहादुर साउँद र उपसभापति डिल्लीराज जोशीले एउटै दिन छुट्टाछुट्टै विज्ञप्ति तथा अपिल जारी गरेपछि डडेल्धुरा कांग्रेसको आन्तरिक विवाद सतहमा आएको हो।
सभापति साउँदले असोज ३ गते जारी गरेको पत्रमा केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका तथा असोज १ गते जिल्ला कार्यसमितिले गरेको निर्णयअनुसार १४औँ महाधिवेशनका बाँकी अधिवेशनहरू सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
निर्धारित कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज ७ गते गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने तयारी छ।
साउँदले जिल्लाका ७ वटै गाउँपालिका तथा नगरपालिकासहित ५२ वटै वडा कार्यसमितिलाई पार्टी विधान र निर्वाचन निर्देशिकाको पूर्ण पालना गर्दै मर्यादित रूपमा अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन्।
तर, जिल्ला कार्यसमितिका उपसभापति डिल्लीराज जोशीले भने तत्काल वडा अधिवेशन अघि नबढाउन अपिल गरेका छन्।
असोज ३ गते जारी गरेको ‘हार्दिक अपिल’मा जोशीले अहिलेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउँदा पार्टीभित्रको दूरी थप बढ्न सक्ने र कांग्रेस विभाजनको अवस्थासम्म पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापाबीच वार्ता र आपसी समझदारी आवश्यक रहेको बताएका छन्।
पार्टीभित्रको विवाद समाधानका लागि तत्काल वडा अधिवेशन स्थगित गरेर संवाद र वार्तामार्फत निकास खोज्नुपर्ने उनको भनाइ छ।
‘भोलि असोज ४ गते हुने भनिएको वडा अधिवेशनलाई तत्काल रोकेर सबै एकै ठाउँमा बसी वार्ता र संवादका माध्यमबाट निकास निकाल्न नेपाली कांग्रेस डडेल्धुरा तयार छ,’ जोशीको अपिलमा उल्लेख छ।
जोशीले जिल्लाका ५२ वटै वडा, ७ पालिका, २ प्रदेश निर्वाचन क्षेत्र तथा जिल्ला कार्यसमितिलाई एकताबद्ध बनाउन अग्रज नेताहरूले पहल गर्नुपर्ने बताएका छन्।
केन्द्रमा देखिएको कांग्रेसभित्रको आन्तरिक असमझदारीको प्रभाव डडेल्धुरामा समेत देखिएको छ। एक पक्ष निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाउने तयारीमा रहेको छ भने अर्को पक्ष भने वार्ता र सहमतिबिना अधिवेशन गर्दा पार्टीभित्रको दूरी थप बढ्ने भन्दै तत्काल प्रक्रिया रोक्नुपर्ने पक्षमा देखिएको छ।
यसले डडेल्धुरा कांग्रेसमा महाधिवेशनको बाँकी प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा अन्योल थपिएको छ।