वर्षाको सम्भावनापछि टीकापुरका सबै विद्यालय असोज ९ गते बिदा
धनगढी : अविरल वर्षाका कारण बाढी, डुबानलगायतका विपद्को जोखिम बढ्न सक्ने भन्दै टीकापुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिनका लागि बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २०८३ असोज ८ गते जारी गरेको सूचनाअनुसार असोज ९ गते टीकापुर नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द रहनेछन ्।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेका विशेष मौसम बुलेटिनमा असोज ९, १० र ११ गते देशभर वर्षाको उच्च सम्भावना रहेको पूर्वानुमान गरेपछि सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै विद्यालयमा बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले उक्त बिदालाई विद्यालयले पाउने स्थानीय बिदामा समायोजन गर्न समेत अनुरोध गरेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाद्वारा जारी सूचनामा नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ ।