कैलालीको अत्तरियामा मष्टाधाम निःशुल्क कपडा वितरण केन्द्र सञ्चालनमा
अत्तरिया : कैलालीको अत्तरिया मा मष्टाधाम निःशूल्क कपडा वितरण केन्द्र सञ्चालनमा आएको छ ।
मष्टाधाम व्यवस्थापन समितिले बिहिबार देखी अत्तरियामा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालनमा ल्याएको हो ।
मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले गोदावरी नगरक्षेत्रमा रहेका गरिब, असहाय र विपन्न व्यक्तिहरुलाई निःशूल्क रुपमा कपडा वितरण गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याईएको बताए । उनले कपडा नपाएर समस्यामा रहेका व्यक्तिहरुका लागि निःशूल्क कपडा वितरण केन्द्र उपयोगी सावित हुने विश्वास लिएको बताए ।
अध्यक्ष साउँदले घरमा थन्क्याएर राखिएका तर प्रयोग गर्न मिल्ने कपडाहरु संकलन गरी आवश्यकता भएका व्यक्तिसम्म पु–याउने काम वितरण केन्द्रले गर्ने बताए । मष्टाधाम व्यवस्थापन समितिले निःशुल्क कपडा वितरण केन्द्रलाई दिर्घकालिन योजनाका रुपमा अघि सारेको बताउदै उनले आवश्यक परेको खण्डमा शाखाहरु पनि खोलेर सेवा दिईने बताए ।
अध्यक्ष साउँदका अनुसार हालसम्म निःशुल्क कपडा वितरण केन्द्रमा ७७४ थान कपडा संकलन गरिसकिएको छ । सो कपडाहरु आवश्यकता अनुसार विभिन्न व्यक्तिहरुलाई वितरण गरिने अध्यक्ष साउँदले बताए । मष्टाधाम व्यवस्थापन समितिले गोदावरी नगरपालिका– ४ मा वृहत गुरुयोजना सहित मष्टाधाम निर्माण गरिरहेको छ ।
जसमा गुरुयोजना अनुसार केही कामहरु सम्पन्न भएपनि आर्थिक अभावका कारण अन्य कामहरु हुन बाँकी रहेका छन् । समितिले धाममार्फत नै निःशुल्क कपडा वितरण केन्द्र सञ्चालनमा ल्याएको हो ।
केन्द्रको बालब्रम्हचारी महाराज श्री दिगम्बर लोमस गिरी ले उद्घाटन गरेका हुन् ।