बुढीतोला आधारभुत स्वास्थ्य केन्द्रलाई गेटा विश्वविद्यालयको कम्युनिटी ट्रेनिङ्ग साईट बनाईने
अत्तरिया: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले गोदावरी–४ मा रहेको बुढीतोला आधारभुत स्वास्थ्य केन्द्रलाई कम्युनिटी ट्रेनिङ्ग साईट बनाउने भएको छ ।
गोदावरी नगरपालिका मातहत रहेको सो स्वास्थ्य केन्द्रलाई विश्वविद्यालयले एमबिबिएस लगायत अन्य सम्बन्धीत शैक्षिक कार्यक्रमका विद्यार्थीका लागि कम्युनिटी ट्रेनिङ्ग साईट तथा फिल्ड पोष्टिङ बनाउने भएको हो ।
शुक्रबार सो स्वास्थ्य केन्द्रलाई कम्युनिटी ट्रेनिङ्ग साईट बनाउने विषयमा गोदावरी नगरपालिका र विश्वविद्यालय बिच सम्झौता भएको छ । विश्वविद्यालयका तर्फबाट विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले र नगरपालिकाका तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्ने प्रस्तावित चिकित्सा स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीलाई समुदायस्तरमा स्वास्थ्यसम्बन्धी व्यावहारिक अनुभव प्रदान गर्न गोदावरी नगरपालिका सहयोगी बन्नेछ ।
विश्वविद्यालयले आफ्नो पाठ्यक्रमअनुसार समुदायमा आधारित प्रशिक्षणका लागि स्वास्थ्य संस्था तथा अन्य आवश्यक संरचनाको प्रयोग गर्न सक्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।
नगरपालिकाअन्तर्गत रहेको बुढीतोला आधारभूत स्वास्थ्य केन्द्रलाई विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रमका लागि आवश्यकताअनुसार समुदायमा आधारित फिल्ड पोस्टिङ, प्रशिक्षण, अध्ययन, अनुसन्धान तथा अन्य शैक्षिक गतिविधिका लागि कम्युनिटी ट्रेनिङ साइटका रूपमा विश्वविद्यालयले प्रयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ ।