हरेक जन्मदिनमा चार सामाजिक संस्थालाई आजीवन सहयोग गर्ने लाेकराज पाण्डेयकाे प्रतिबद्धता
धनगढी: कैलालीका युवा नेता तथा समाजसेवी लोकराज पाण्डेय ‘आगो’ले आफ्नो जन्मदिनको अवसरमा गोदावरी नगरपालिका क्षेत्रका चार सामाजिक संस्थालाई आर्थिक सहयोग गरेका छन्।
‘सबैको साथ, सबैको विकास’ तथा ‘गाँस, बास, कपास हाम्रो अभियान’ भन्ने मूल उद्देश्यलाई आत्मसात् गर्दै पाण्डेयले ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गरिरहेका संस्थालाई सहयोग गरेका हुन्।
पाण्डेयले आफ्नो जन्मदिनको अवसर पारेर अत्तरियास्थित सेभ हाउस, दृष्टि फाउन्डेसन, सुदूरपश्चिम समावेशी आधारभूत अपाङ्ग विद्यालय र ज्येष्ठ नागरिक समाजलाई जनही १२ हजार रुपैयाँका दरले कुल ४८ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
पाण्डेयले जन्मोत्सवका अवसरमा गरिने सहयोगलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने बताएका छन्। उनले जीवन रहेसम्म हरेक वर्ष आफ्नो जन्मदिनमा स्थापित परोपकारी संस्थालाई प्रत्येक महिनाकाे एक हजार रुपैयाका दरले हरेक वर्ष १२ हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, पाण्डेयले आफूले सुरु गरेको सरसफाइ अभियानलाई समेत पुनः निरन्तरता दिने घोषणा गरेका छन्। आमाको निधनपछि रोकिएको उक्त अभियानलाई पुनः सञ्चालन गर्दै यसपटक गोदावरी नगरपालिका–१० स्थित एक सामुदायिक विद्यालयको शौचालय सरसफाइ गर्ने उनले बताएका छन्।
सामाजिक सेवा र सरसफाइ अभियानलाई जन्मोत्सवसँग जोड्दै पाण्डेयले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताएका छन्।