सुदूर नेपाललाई विश्वसँग जोड्दै

लगातार वर्षापछि डडेल्धुरामा सवारी आवागमनमा रोक

२०८३ असोज १०, ०९:४१ खबर संवाददाता

डडेल्धुरा: लगातार भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै डडेल्धुरा जिल्लामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले सूचना जारी गर्दै आज असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको यातायात सञ्चालनसम्बन्धी सूचनाअनुसार डडेल्धुरा सतर्कताको वर्गमा परेको छ। डडेल्धुराका पूर्व, उत्तर र दक्षिणतर्फका जिल्लाहरू जोखिम तथा अति जोखिमको सूचीमा रहेकाले सम्भावित विपद्लाई ध्यानमा राखेर सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

हिजो दिउँसोदेखि लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै सडकमा दुर्घटना तथा अन्य विपद्को जोखिम बढेपछि प्रशासनले सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो।

प्रशासनले रोक लगाइएको अवधिमा अत्यावश्यक वा आकस्मिक काम परेमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस