सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो

२०८३ असोज १०, ०२:४० रासस

काठमाडौँ : भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरी नगरपालिका–१ मा रहेको इन्द्रदहमा स्नान एवं पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्परा अनुसार शुक्रबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए । 

शुक्रबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी देवताको पूजा आराधना गरेको चन्द्रागिरी नगरपालिका–१ कार्यालयका सूचना अधिकारी रचना अर्यालले राससलाई जानकारी दिए । 

नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थलमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन स्नान एवं पूजा आराधनाका लागि पुग्ने गरेका छन् । कति भक्तजन भने भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई जाग्राम बसेर बत्ती बाल्न पुग्छन् ।

मेलाका अवसरमा नगरपालिकाको वडा नं १, २ र ३ का विद्यालयलगायत कार्यालयमा स्थानीय पर्व बिदा दिने गरिएकामा यस वर्ष शनिबारको सार्वजनिक बिदाकै दिनमा पर्व परेकाले बिदा दिनु नपरेको पनि उनले सुनाए । दिवङ्गतहरु स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने, स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास भक्तजनमा रहिआएको छ । 
 

कमेन्ट लोड गर्नुस