दुर्गमबाट सुगमतर्फ बोगटान फुड्सिल, सिमचौर स्वास्थ्य चौकीको अत्याधुनिक भवन सम्पन्न
धनगढी : कुनै समय डोटीको दुर्गम क्षेत्रका रूपमा चिनिने बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरमा विकासका पूर्वाधार विस्तारसँगै स्थानीयको जनजीवनमा परिवर्तन आउन थालेको छ।
यसैक्रममा ८२ लाख रुपैयाँको लागतमा सिमचौर स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।
संघीय सरकारको सम्पूरक बजेटबाट ८० प्रतिशत र बोगटान फुड्सिल गाउँपालिकाको २० प्रतिशत लगानीमा निर्माण गरिएको भवनको दशैंपछि उद्घाटन गर्ने तयारी रहेको वडा नं. १ का वडा अध्यक्ष खेम घर्ती मगरले जानकारी दिएका छन् ।
नवनिर्मित स्वास्थ्य चौकीबाट सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, प्राथमिक स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, खोप, परिवार नियोजन, पोषण, औषधि वितरण तथा स्वास्थ्य परामर्शलगायतका सेवा उपलब्ध हुनेछन्। सिमचौरसँगै काटै, मौडा, पान्स, छिडिखान, झ्यामतोला र लफाडा लगायतका बस्तीका स्थानीयसमेत यसबाट लाभान्वित हुनेछन् ।
वडा अध्यक्ष घर्ती मगरका अनुसार वडा नं. १ मा स्वास्थ्य चौकी भवनसँगै सिमचौर माविको तीनकोठे भवन निर्माण, राष्ट्रिय विद्युत् लाइन विस्तार, कर्कटेश्वर माविको घेरबार, काटै–मोरा–सेतिलोकमार्ग जोड्ने सडक तथा झ्यामतोला–गुईनाडन सडक निर्माणलगायतका काम भइरहेका छन् ।
त्यस्तै, सेउडेखेत सामुदायिक स्वास्थ्य इकाई स्थापना, सिरपातल–काटै खानेपानी योजना, छिडिखान र उफन्नामा शिवजी मन्दिर तथा काटै सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन्। १३५ घरधुरीमा जस्तापाता वितरणसमेत गरिएको अध्यक्ष घर्ती मगरले जानकारी दिए ।
स्वास्थ्य, शिक्षा, विद्युत्, खानेपानी र सडकजस्ता आधारभूत पूर्वाधार विस्तार हुँदै गएपछि बोगटान फुड्सिलको दुर्गम पहिचान क्रमशः बदलिँदै गएको छ। नयाँ स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ। उक्त भवनको शिलान्यास २०८२ माघमा भयको थियोे ।