आज मध्यरातिदेखि महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन डडेल्धुरा प्रशासनको आग्रह
धनगढीः भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सार्वजनिक सूचना जारी गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा सिल्ट सफाइको काम गर्न बाँधको ढोका खोलिने जानकारी दिएको हो।
सूचनाअनुसार आज राति १ बजेदेखि सोमबार राति १ बजेसम्म करिब ४८ घण्टा सिल्ट सफाइको काम हुनेछ। सो अवधिमा परियोजनाको बाँधबाट पानी छोडिन सक्ने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने प्रशासनले जनाएको छ।
भारतको धारचुलास्थित धौलीगंगा पावर स्टेसनबाट पत्राचार भएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो।