कञ्चनपुरमा १ लाख बढीका भन्सार छलीका सामान बरामद
धनगढी: कञ्चनपुरमा प्रहरीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका लत्ताकपडा, किराना सामान तथा बोइलर कुखुरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइहरूले असोज १६ गते सञ्चालन गरेको गस्तीका क्रममा रु. १ लाख २० हजार ३६० बराबरका अवैध सामान बरामद गरेका हुन्। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले निम्न सामान बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बेलौरी: कपडा तथा किराना सामान गरी करिब रु. ७९ हजार बराबर।
वडा प्रहरी कार्यालय महेन्द्रनगर: करिब रु. २६ हजार ५०० बराबरका किराना सामान।
इलाका प्रहरी कार्यालय झलारी: करिब रु. ७ हजार ८६० बराबरका किराना सामान।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनी: करिब रु. ७ हजार बराबरका अवैध बोइलर कुखुरा, जुन बरामदपछि नष्ट गरिएको प्रहरीले जनाएको छ।
भन्सार छली गरी गैरकानुनी रूपमा सीमापारिबाट सामान भित्र्याउने कार्य नियन्त्रण गर्न सीमा क्षेत्र तथा आसपासका बजारमा निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।