भोटेकोशी बाढीको प्रभाव अध्ययन संसदीय विशेष समितिको बैठक आज बस्दै
काठमाडौँ: भोटेकोशी बाढीको प्रभाव अध्ययन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बिहान ९ः०० बजे बस्ने भएको छ।
संसद् सचिवालय भवन नं. १ स्थित कोठा नं. ४११ मा रहेको सार्वजनिक लेखा समितिको हलमा बैठक आह्वान गरिएको छ। आजको बैठकमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात (पूर्वाधार विकास) मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरूसँग छलफल गर्ने मुख्य एजेन्डा रहेको छ। बाढीले पु¥याएको क्षति, राहत तथा पुनर्निर्माण प्रयास र कानुनी एवम् पूर्वाधार सम्बन्धी भावी रणनीतिबारे छलफल गर्न समितिले सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
गणेश पराजुली सभापति रहेको समितिमा रास्वपाबाट पराजुली, निशा डाँगी, अच्युतम लामिछाने, अनुश्का श्रेष्ठ, धनञ्जय रेग्मी, रवीन्द्र पटेल, मिङ्मा ग्याबु शेर्पा र सुजाता तामाङ सदस्य रहेका छन् । कांग्रेसबाट मोहन आचार्य र सीता थपलिया, एमालेबाट गंगादेवी श्रेष्ठ र पुष्पराज कंडेल सदस्य छन् भने नेकपाबाट रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई र राप्रपाबाट सरश्वती लामा रहेका छन् ।