कैलालीको गौरीगंगाबाट ३ थान भरुवा बन्दुक बरामद
धनगढीः कैलालीको गौरीगंगाबाट ३ थान भरुवा बन्दुक बरामद गरिएको छ।
प्रहरीले जिल्लाको गौरीगंगा नगरपालिका-५ अण्डैयास्थित बुढो बेताल सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेका १ नाले ३ थान भरुवा बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिवार इलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय बढैपुरबाट गस्तीमा खटिएको संयुक्त टोलीले उक्त बन्दुक बरामद गरेको जनाएको छ।
उक्त बन्दुकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।