सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम चिनाउने धनगढीको अभियान : २१ वटा बुकलेटमा के छ ? 

२०८३ असोज २६, ०५:२४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न धनगढी उपमहानगरपालिकाले प्रवर्द्धनात्मक पुस्तिका (बुकलेट) प्रकाशन गर्दै आइतबार बिमोचन गर्‍यो। ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत आइतबार २१ वटा बुकलेट विमोचन गरिएको थियो। बुकलेटमा प्रदेशका महत्वपूर्ण सम्पदाको परिचय, विशेषता र महिमाबारे जानकारी समेटिएको छ। 

विमोचित बुकलेटमा रामारोशन क्षेत्र, सालमुनी, पादुका त्रिवेणी धाम, बैद्यनाथ धाम, भागेश्वर मन्दिर, पञ्चदेवल विनायक , जगन्नाथ मन्दिर, पाताल भुवनेश्वर, भुइँया, अमरगढी किल्ला, शैल्‍य शिखर मालिकार्जुन मन्दिर, उदयदेव मन्दिर, अजमेरकोट, त्रिपुरा सुन्दरी, उग्रतारा मन्दिर, बेहडाबाबा धाम, घटालबाबा, पद्म प्रकाशेश्वर महादेव, शिवपुरी धाम, गुम्बाहरु र देवथान समेटिएका छन्। यसअघि अपि हिमाल र शैलेश्वरीको बुकलेट विमोचन भइसकेका हुँदा धनगढी उपमहानगरपालिकाले जम्मा २३ वटा बुकलेट प्रकाशन गरिसकेको जनाएको छ। 

धनगढीका मेयर गोपाल हमालका अनुसार सुदूरपश्चिममा भएका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदा खोज्ने प्रयास उपमहानगरपालिकाले गरेको हो। ‘यो पहिलो प्रयास हो,’ हमालले भने, ‘२३ वटा बुकलेट बनाइसकेका छौं। यो अभियानलाई हामी निरन्तरता दिन्छौं।’ महत्वपूर्ण पर्यटकीय गन्तव्य प्रचारप्रसारको अभावमा ओझेलमा परेको र त्यस्ता सम्पदाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यले पुस्तिका प्रकाशन गरिएको उनले बताए। पुस्तिकामार्फत प्रदेशका सम्पदाबारे नागरिकलाई जानकारी गराउनुका साथै तिनको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको हमालको भनाइ छ। 

यस पहलले पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, धार्मिक परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा समेत योगदान पुर्‍याउने उपमहानगरपालिकाको विश्वास छ। पुस्तिका प्रकाशनसँगै उपमहानगरपालिकाले जेन्जी मार्गमा डिजिटल बोर्डसमेत सञ्चालनमा ल्याएको छ। आधुनिक प्रविधिमार्फत सुदूरपश्चिमका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक क्षेत्रका सम्भावना र विशेषताबारे जानकारी दिने उद्देश्यले बोर्ड स्थापना गरिएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका अनुसार डिजिटल बोर्डमा हरेक दिन साँझ ६ बजेदेखि राति ९ बजेसम्म सुदूरपश्चिमका महत्वपूर्ण सम्पदा र सम्भावनासम्बन्धी सामग्री प्रस्तुत गरिनेछ। पुस्तिकामा समेटिएका सम्पदाबारे डिजिटल माध्यमबाट समेत जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ।

कमेन्ट लोड गर्नुस