धनगढी–१२ को शिव तथा हनुमान मन्दिर धाममा ४४औँ हाइमास्ट लाइट
धनगढी: धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी–१२ स्थित शिव तथा हनुमान मन्दिर धाममा ४४औँ हाइमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ।
जडान गरिएको हाइमास्ट लाइटको वडा नम्बर १२ का अध्यक्ष शेरबहादुर महराले उद्घाटन गरेका हुन्।
उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा उज्यालो विस्तार गर्ने उद्देश्यसहित सञ्चालन गरिरहेको अभियानअन्तर्गत मन्दिर धाममा लाइट जडान गरिएको हो।
धार्मिक गतिविधि हुने तथा सार्वजनिक आवागमनका दृष्टिले महत्त्वपूर्ण क्षेत्र भएकाले हाइमास्ट लाइट सञ्चालनमा आएसँगै रातिको समयमा आवागमन र धार्मिक गतिविधि सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ।
उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रलाई उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले ‘उज्यालो धनगढी’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।