विश्वकप लिग–२ शृङ्खलाः नेपाल आज ओमानसँग खेल्दै
काठमाडौँः आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ।
यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ। जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो।
यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो। नेपाली टोली आज पनि खेलमा जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ। तालिकाको शीर्ष छमा रहेर आइसिसी एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल महत्वपूर्ण छ। ताजा स्थितिमा अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छ।
आइसिसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष छमा पर्ने टोलीले सोझै एकदिवसीय मान्यता जोगाउने छन्। तालिकाको पुछारको दुईवटा टिमले एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्छ।