मेक्सिकोमा आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु
मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आँधीसँगै आएको भारी वर्षा र बाढीले ठूलो क्षति पु¥याएको छ ।
गत सातादेखि आएको आँधीका कारण अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियामा वर्षा र बाढीको समस्या देखिएको छ ।
मेक्सिकोको सेना र नौसेनाले खोज तथा उद्धार कार्य जारी राखेका छन् । सैन्य अधिकारीहरूले पत्रकार सम्मेलनमा थप दुई जना अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।
यसअघि सोमबारसम्म चार जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।
त्यसबेला हेलिकोप्टरको सहायताबाट ३२ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका थिए । यस वर्ष प्रशान्त महासागरमा एल निनो मौसमी घटनाका कारण आँधीको गतिविधि थप तीव्र हुने अनुमान गरिएको छ ।
एल निनोले समुद्रको सतहको तापक्रम बढाउनुका साथै हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ ।
यसैबीच, मेक्सिको नजिकै प्रशान्त महासागरमा आँधी ‘साइमन’ र आँधी ‘ट्रुडी’ सक्रिय रहेका छन् । अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार यी दुवै आँधीले तत्काल मेक्सिकोको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छैन । ‘साइमन’का कारण जालिस्को र गुरेरो राज्यमा भारी वर्षा भएको छ । गुरेरोमा हालै पर्खाल भत्किँदा ७१ वर्षीय एक व्यक्तिको मृत्यु भएको बताएको छ ।