पूर्वप्रहरी ज्येष्ठ नागरिकलाई सम्मान
महेन्द्रनगर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार पूर्वप्रहरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।
उनलाई ७१ औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयमा आयोजित प्रहरी दिवसका अवसरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सम्मान गरेका हुन्।
सम्मानित हुनेमा शक्लाफाँटा नगरपालिका–५ का ८७ वर्षीय पूर्वप्रहरी हवल्दार गङ्गादत्त भट्ट, ८३ वर्षीय पूर्वप्रहरी प्रहरी नायब निरीक्षक प्रेमराज शाही, ८१ वर्षीय पूर्वप्रहरी नायब निरीक्षक दत्तराम पन्त, ८१ वर्षीय पूर्वप्रहरी निरीक्षक दिलीपसिंह बडाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
प्रहरी सङ्गठनमा रहँदा मुलुकको शान्ति सुरक्षाका लागि दिएको योगदानको उच्च सम्मान गर्दै पूर्वज्येष्ठ प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो। सोही अवसरमा कञ्चनपुर प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई नगद सहित सम्मान गरेको छ।
सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कञ्चन राजचल, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विक्रमबहादुर शाही, प्रहरी सहायक निरीक्षक पदम चन्द, प्रहरी निरीक्षक करिना ओइरे, प्रहरी वरिष्ठ हवल्दार धनबहादुर पाली, प्रहरी हवल्दार चित्रदेव जोशी र प्रहरी हवल्दार मञ्जु बोहरा (असोज महिनाको उत्कृष्ट) प्रहरी जवानहरु रवीन्द्र सार्की, वासुदेव राना, अर्जुन पुजारा र टेकेन्द्र साउँद छन्।
प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक दीपेन्द्र विष्टलगायत सुरक्षाकर्मी र विभिन्न क्षेत्रका प्रमुखको उपस्थिति थियो।