सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मनाइयो प्रहरी दिवस, अमर प्रहरीको योगदानको स्मरण

२०८३ असोज ३०, ०३:२७ लक्ष्मण ढुङ्गाल

धनगढी: सुदूरपश्चिममा ७१औं प्रहरी दिवस मनाइएको छ। प्रदेश प्रहरी कार्यालयले विविध कार्यक्रम गर्दै दिवस मनाएको हो। सो अवसरमा अमर प्रहरीको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले राष्ट्र सेवाका क्रममा ज्यान गुमाएका अमर प्रहरीको योगदान राष्ट्रले सधैँ स्मरण गर्ने बताए। 

डीआईजी भट्टराईले नागरिकको जीउधनको रक्षा, शान्ति सुरक्षा कायम र सुशासन प्रवर्द्धनमा नेपाल प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। कर्तव्य पालनाका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीको योगदान समाजले कहिल्यै बिर्सन नसक्ने उनको भनाइ थियो।

कर्तव्य पालनाका क्रममा घाइते भएका प्रहरी कर्मचारीको योगदानको प्रशंसा गर्दै उनले उच्च मनोबल, अनुशासन र साहसका साथ नागरिकको सुरक्षामा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिए। सुदूरपश्चिममा शान्ति सुरक्षा थप प्रभावकारी बनाउँदै नागरिकलाई सहज रूपमा सुरक्षा सेवा प्रदान गर्ने आफ्नो योजना रहेको पनि उनले बताए।

प्रहरी संगठनलाई थप सुदृढ बनाउन राज्यका सबै निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै डीआईजी भट्टराईले प्रदेश तथा स्थानीय तहसँग प्रभावकारी समन्वय हुन सके प्रहरीको मनोबल बढ्ने र नागरिकलाई सुरक्षा सेवा प्रवाह गर्न सहज हुने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पनि सुशासन कायम गर्न, नागरिकको सुरक्षा गर्न तथा जघन्य अपराध र विभिन्न घटनाको अनुसन्धानमा नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। मुख्यमन्त्री भट्टले गृह प्रशासनसम्बन्धी अधिकारको अभावमा प्रदेश सरकारलाई काम गर्न चुनौती भइरहेको बताए। संविधानले व्यवस्था गरेका प्रदेशका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त, दक्ष र प्रविधिमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरे।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम थारूले कानुनी राज्यको अनुभूति दिलाउन, दण्डहीनता नियन्त्रण गर्न र सुशासन कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए। शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई कानुनको प्रत्याभूति दिलाउन प्रहरीले निर्वाह गर्दै आएको जिम्मेवारीको उनले प्रशंसा गरे।

७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्र सेवाका क्रममा जीवन बलिदान गर्ने अमर प्रहरीको योगदानको स्मरण गर्नुका साथै कर्तव्य पालनाका क्रममा घाइते भएका प्रहरी कर्मचारीको सम्मान गरिएको छ। कार्यक्रममा प्रहरी संगठनको जिम्मेवारी, नागरिक सुरक्षामा यसको भूमिका र सुरक्षा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस