दसैं बिदामा सुदूरपश्चिमका अस्पतालले कसरी दिँदैछन् सेवा ?
धनगढीः दसैंको लामो बिदामा सरकारी कार्यालयदेखि अधिकांश सार्वजनिक सेवा बन्द छन्।
अस्पतालहरुले पनि केही सेवा सुचारु गर्न सकेका छैनन्। सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालले नियमित बहिरङ्ग (ओपीडी) सेवा बन्द गरिसकेका छन्। तर, आकस्मिक उपचार, भर्ना भएका बिरामीको उपचार र अन्य अत्यावश्यक स्वास्थ्य सेवा सुचारु अवस्थामै राखिएको छ।
यसवर्ष दसैंमा शनिबार र आइतबारसहित नौ दिन सार्वजनिक बिदा छ। सरकारले ३१ असोज अर्थात् फूलपातीदेखि सार्वजनिक बिदा दिएको छ। लामो बिदाले नियमित स्वास्थ्य परीक्षण, चिकित्सकसँग परामर्श र फलोअपका लागि अस्पताल पुग्ने बिरामीले बिदा सकिएसम्म कुर्नुपर्ने देखिएको छ।
प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेकोआकस्मिक अवस्थामा अस्पताल पुग्ने बिरामी, अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामी तथा प्रसूति सेवा आवश्यक पर्ने महिलाका लागि अस्पतालले सेवा निरन्तर राख्ने व्यवस्था मिलाएको छ। त्यसका लागि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई आलोपालो ड्युटीमा खटाइएको छ। अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार दसैं बिदामा आकस्मिक सेवा, सिटी स्क्यान, डायलासिस र प्रसूति सेवा नियमित सञ्चालन गरिएको छ।
यता, कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालले पनि दसैं बिदाका कारण ओपीडी सेवा बन्द गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीका अनुसार ओपीडी बन्द भए पनि आकस्मिकलगायत २४ घण्टा उपलब्ध गराउनुपर्ने सेवाहरू सञ्चालनमै रहेका छन्। ९ गतेदेखि भने सवै सेवा सुचारु गरिने अस्पतालहरुले जनाएका छन्।