सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक 

२०८३ कार्तिक ३, १०:५३ रासस

नेपालगञ्ज (बाँके) :दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ ।

दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व सकिएको केही दिनसम्म चल्ने भएकाले थारु समुदायका गाउँबस्तीमा सांस्कृतिक उत्सवको माहोल बनेको छ ।
थारु समुदायको बाक्लो बसोबास रहेका जिल्लाका अधिकांश गाउँमा हरेक दिन साँझ युवायुवती सखिया नाचमा रमाउने गरेका छन् । दिनभरको काम सकेर साँझपख सामूहिक रूपमा नाचिने यस नाचले गाउँमा आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ ।

कोहलपुर नगरपालिका–मैटहवाका थारु अगुवा दीपेन्द्र चौधरीले पछिल्लो समय गाउँबस्तीमा दैनिकजसो सखिया नाच हुन थालेपछि दसैँको रौनक थपिएको बताए । उनका अनुसार नाचका क्रममा दुष्टात्माबाट जोगिन गुरुवाको व्यवस्था गरिन्छ भने गाउँका बरघर तथा भद्रभलादमीले यसको संरक्षण र व्यवस्थापनमा भूमिका निर्वाह गर्छन् ।
राप्तीसोनारी गाउँपालिका–बैजापुरका थारु अगुवा विक्रम थारुका अनुसार सखिया नाचमा युवतीले नृत्य गर्ने र युवाले मादल बजाउने परम्परा छ । नाचमा मादलको सङ्ख्या र ताल बढ्दै जाँदा यसको आकर्षणसमेत बढ्ने उनले बताए । यसका लागि कम्तीमा चारदेखि पाँच जनासम्म मादल बजाउने युवा सहभागी हुने गर्छन् ।
सखिया नाचमा सामान्यतया १५ देखि २० जना युवती सहभागी हुन्छन् । उनीहरू सेतो फरिया, रातो चोलिया र रातो रिबन लगाएर परम्परागत पहिरनमा सजिने गर्छन् । थारु संस्कृति झल्काउने विभिन्न गहना तथा सात रङले सजाइएको मञ्जीरा नाचको थप आकर्षण बन्ने गरेको छ ।

बाँकेको टिटिहिरियाका शङ्करसिंह थारुका अनुसार सखिया नाचमा डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव–पार्वती, पाण्डव र कृष्णलगायत देवीदेवताको स्तुति गीतमार्फत गरिन्छ । गीतका माध्यमबाट समुदायको शान्ति, सुख र सुरक्षाको कामना गर्ने परम्परा रहेको उनले बताए ।
नाचमा सहभागी युवतीले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, ऐरम, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना र कुकरलगौतीलगायत परम्परागत गहना लगाउने गर्छन् । उनीहरूको पहिरनमा गोन्या, चोल्या र फरियाको प्रयोगले थारु समुदायको मौलिक संस्कृति झल्काउने गरेको अगुवाहरू बताउँछन् ।

गाउँका साथीभाइ तथा युवायुवती एकै ठाउँमा भेला भएर सामूहिक रूपमा नाच्ने भएकाले यसलाई सखिया नाच भनिएको थारु अगुवाहरूको भनाइ छ । यो नाचले समुदायमा सामूहिकता, आपसी सहयोग र एकताको भावना बलियो बनाउने गरेको छ ।
सखिया नाच सम्पन्न भएपछि सहभागीले सङ्कलन गरेको रकमबाट माछा, मासु तथा अन्य परिकार तयार गरी सामूहिक रूपमा खाने चलनसमेत रहेको छ । यसले मनोरञ्जनसँगै सामुदायिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउँदै आएको छ ।
थारु समुदायको मौलिक कला, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको सखिया नाच दसैँका बेला पुस्तान्तरण हुँदै आएको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ ।
 

कमेन्ट लोड गर्नुस