सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसाइँसराइले हराएको निरौलीको ‘राजसी दसैं’, चार वर्षपछि लाग्दैछ मेला

२०८३ कार्तिक ३, ११:३८ खबर संवाददाता

धनगढीः कुनै समय डोटीको जोरायलमा दसैं आउनासाथ निरौलीमा छुट्टै रौनक छाउँथ्यो। पञ्चेबाजाको गुञ्जन, भोस्सी र चौलो खेल्नेहरूको भीड अनि परम्परागत विधिअनुसार राँगोको पूजा र बलिसहित मनाइने दसैंले निरौलीलाई सुदूरपश्चिममै चिनाएको थियो। तर, अहिले न त्यहाँ पहिलेको जस्तो चहलपहल छ, न त परम्परा धान्ने जनशक्ति नै। बसाइँसराइ र संरक्षणको अभावले निरौलीको ऐतिहासिक ‘राजसी दसैं’ ओझेलमा छ।

डोटीको जोरायल गाउँपालिका–६ मा लाग्ने निरौली दसैं मेला पछिल्ला चार वर्षदेखि पूर्ण रूपमा बन्द थियो। वडाध्यक्षा गणेश बोहराका अनुसार यसवर्ष भने मेलाको तयारी भइरहेको छ। `मेलाका लागि पहिले सरकारले नै बजेट विनियोजन गर्दै आएको थियो,´ उनले भने, `तर ०७९ सालदेखि मेला पूर्णरूपमा बन्द भयो। यसपटक सर्वसाधारणबाटै पैसा उठाएर मेला आयोजना हुँदै छ।´

उनका अनुसार कुनै समय अष्टमीदेखि दशमीसम्म भव्य रूपमा मनाइने यो मेला अहिले अस्तित्व जोगाउने चुनौतीमा छ। मेलासँगै जोडिएका मौलिक संस्कृति, परम्परा र ऐतिहासिक महत्वसमेत हराउने जोखिम बढेको छ।

जोरायलका तीर्थराज भट्टलाई निरौली दसैंमा भोस्सी खेलेको सम्झना अझै ताजै छ। उनका अनुसार मेलामा बाबियोको मोटो डोरीले बाँधिएको राँगोलाई परम्परागत विधिअनुसार पूजा गरेर पञ्चेबाजासहित भगवती माणौँमा घुमाइन्थ्यो। पाँच फन्को घुमाउने क्रममा दुई फन्को राँगोबिना चौलो खेल्ने र तीन फन्को राँगोसँगै भोस्सी खेल्ने चलन थियो। ‘भीडको होहल्ला र प्रहारका बीच राँगो उफ्रिन थाल्दा भगवती चढेको भन्ने गरिन्थ्यो,’ भट्ट सम्झिन्छन्, ‘भोस्सी र चौलो सम्पन्न भएपछि मात्रै राँगोको पूजा र बलि दिने परम्परा थियो।’

डोटेली संस्कृतिविद् निर्मलकुमार भण्डारीका अनुसार निरौली दसैं सामान्य मेला मात्र नभएर ऐतिहासिक रूपमा राजकीय संरक्षण पाएको पर्व हो। निरौली क्षेत्रको जग्गा सरकारी गुठीअन्तर्गत रहेकाले जग्गा भोगचलन गर्नेहरूबाट मालपोतसरह रकम संकलन गरिन्थ्यो। त्यही रकमबाट मेलाको पूजाआजा र राँगो खरिद गर्ने व्यवस्था मिलाइन्थ्यो।

‘पहिले अष्टमीदेखि दशमीसम्म भव्य मेला लाग्थ्यो। दसैंका लागि सरकारी बजेटसमेत विनियोजन हुन्थ्यो,’ भण्डारी भन्छन्, ‘राजाबाट पनि मेलाका लागि रकम आउने गरेको थियो। बलि दिँदा राजाको नामसमेत सम्बोधन गरिन्थ्यो। त्यसैले निरौलीको दसैंलाई राजसी दसैं भन्ने गरिएको हो।’

भण्डारीका अनुसार डोटेली राजा निरैपालको पालादेखि निरौलीमा दसैं मेला लाग्न थालेको मानिन्छ। मेलामा विभिन्न समुदायको सहभागिता रहने गरेको थियो। विशेषगरी दलित समुदायले समेत महत्वपूर्ण अधिकार र भूमिका पाउने परम्परा रहेको उनी बताउँछन्। दिउँसो गाउँको सिरानमा रहेका भागेश्वर र कामीक्षादेवीका मन्दिरमा पूजाआजा तथा राति तोलीगडामा कार्यक्रम सञ्चालन गरिन्थ्यो।

तर, समयसँगै निरौलीको स्वरूप बदलिएको छ। रोजगारी, शिक्षा र सुविधाको खोजीमा स्थानीय बासिन्दा कैलाली, कञ्चनपुर र काठमाडौंलगायतका क्षेत्रमा बसाइँ सरेपछि गाउँमा जनशक्ति अभाव भएको छ। त्यसको प्रत्यक्ष असर दसैं मेलामा परेको स्थानीय बताउँछन्।

मेलासँगै जोडिएको राँगो बलि दिने परम्परा पनि निरौली दसैंको विशिष्ट पक्षका रूपमा रहेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार राँगोलाई लखेट्दै तोलीगडासम्म पुर्‍याउने र त्यहाँ खुकुरी प्रहार गर्ने चलन थियो। त्यहाँ नढले गडसेरा चौकीगाडसम्म पुर्‍याइन्थ्यो। त्यसपछि राँगोको टाउको ल्याएर तोलीगडामा गिरी खेल्ने परम्परा रहेको उनीहरू बताउँछन्।
निरौलीको दसैं मेला मात्र होइन, यस क्षेत्रको ऐतिहासिक पहिचानका रूपमा रहेको निरौली दरबारसमेत संरक्षणको अभावमा जीर्ण बनेको छ। स्थानीयका अनुसार तत्कालीन राजा निरैपाल मल्लले निर्माण गरेको मानिने दरबार लामो समयदेखि बेवास्तामा परेको छ।

कमेन्ट लोड गर्नुस