सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बैतडीवासी अझै ढुङ्गे युगमा’ भनेपछि विवादमा रास्वपा सांसद तामाङ

२०८३ कार्तिक ४, ११:५३ खबर संवाददाता

धनगढीः प्रसिद्ध देहिमाडौँ मेलामा पशुबलिको आलोचना गर्दै बैतडीवासीलाई ‘ढुङ्गे युगका नागरिक’ भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ विवादमा तानिएकी छन्।
मेलामा राँगालाई भीडमा लखेटेर तरबार प्रहार गरी ढालिएको भन्दै सांसद तामाङले सामाजिक सञ्जालमा ‘बैतडीवासी तपाईँहरू अझै ढुङ्गे युगमा हुनुहुँदो रहेछ’ भन्दै टिप्पणी गरेकी थिइन्।

उनको उक्त अभिव्यक्तिपछि स्थानीयले आपत्ति जनाएका छन्। पशुबलिको विरोध गर्ने क्रममा समग्र बैतडीवासीलाई होच्याइएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ। आलोचकहरूले उक्त अभिव्यक्तिलाई बैतडीको धार्मिक आस्था, सांस्कृतिक परम्परा र सुदूरपश्चिमको पहिचानमाथिको अपमानका रूपमा व्याख्या गरेका छन्।

सामाजिक सञ्जालमा निता खत्रीले कसैलाई बलिप्रथा मन नपर्न सक्ने र आफ्नो विचार राख्ने स्वतन्त्रता सबैलाई भए पनि अरूको आस्था र परम्परालाई अपमान गर्ने अधिकार कसैलाई नभएको टिप्पणी गरेकी छन्। त्यस्तै, सुरेश भट्टले सांसद तामाङको अभिव्यक्तिले हिन्दु धर्ममाथि नै प्रहार गर्न खोजेको बताएका छन्। धर्मसिंह बिष्टले पनि देहिमाडौँको बलिप्रथाबारे बहस र सुझाव दिनु एउटा विषय भए पनि सिङ्गो बैतडी र बैतडीवासीको चेतनालाई ‘ढुङ्गे युग’ भनेर होच्याउनु गलत र पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन्।

यता, सांसद तामाङले अर्को अभिव्यक्ति दिँदै आफूले धर्मको नभई पशुमाथि हुने क्रूरताको विरोध गरेको बताएकी छिन्। नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष मानेको उल्लेख गर्दै उनले बहुसङ्ख्यकले मान्ने धर्मका चाडपर्व र अभ्यास बढी देखिने भएकाले तिनका राम्रा पक्षसँगै सुधार गर्नुपर्ने विषय पनि बढी चर्चामा आउने उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस