सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

२०८३ कार्तिक ४, ०४:४८ रासस

काठमाडौँ :  मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बने गोेरखाका इन्जिनियर कुमार लामिछाने।

काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएका छन् । 
गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेशा अङ्गाल्दै आएका हुुन् ।  
उनले १० करोड लगानीसहित मासिक एक लाखका दरले जम्मा छ रोपनी जग्गा भाडामा लिई गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए । सुरुमा ३० वटा भैँसीबाट व्यवसाय सञ्चालन गर्नुभएका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैँसी रहेका छन् । 

“इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवन साथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ । यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,” उनले भने ।
इन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुध विकास संस्थान (डिडिसी) र नमूना डेरी तथा बाँकी दुध उपत्यकाका विभिन्न डेरीहरुमा बिक्रीवितरण हुँदै आएको उनले जानकारी दिए । 

लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर १७० र गाईको १०० छ । गाई र भैँसीको दुध दुहुन मेसिन जडान गरिएको छ ।  उनको फार्ममा हाल प्रतक्ष एवं अप्रतक्ष रुपमा ५० कर्मचारी कार्यरत छन् ।
दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर १५ लाख बचत हुने गरेको उनले बताए । गाई र भैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुनेगरेको उनको भनाइ छ । 
 

कमेन्ट लोड गर्नुस