सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

२०८३ कार्तिक ६, ११:५४ रासस

काठमाडौँ : बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।  
सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन् । उनले सन् २०१७ मा बङ्लादेशको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए ।
सैफउद्दिनले बङ्लादेशका लागि ३० एकदिवसीय अन्तरराष्ट्रिय खेलमा ३६२ रन बनाउनुका साथै ४२ विकेट लिएका छन् । त्यस्तै, उनले ५१ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् ।

सन् २०१६ को आइसिसी यु–१९ विश्वकपमा बङ्लादेशका लागि प्रभावशाली प्रदर्शन गरेका सैफउद्दिनले प्रतियोगितामा १३ विकेट लिएका थिए । उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि बङ्लादेशको प्रतिनिधित्व गरेका थिए ।

सैफउद्दिनले विभिन्न पाँच वटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बिपिएल) खेलिसकेका छन् । एनपिएल उनका लागि पहिलो विदेशी लिग हो । पोखराले सैफउद्दिनसहित बङ्लादेशकै शाकिबअल हसन र मेहदी हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।
एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
 

कमेन्ट लोड गर्नुस