कैलालीमा सुरक्षा अवस्थाअनुसार देउसी–भैलोको समय निर्धारण, अशान्ति भए साँझ ७ बजेदेखि नै रोक
धनगढीः कैलालीमा यसवर्ष तिहारमा देउसी–भैलो खेल्ने समय सुरक्षा अवस्थाका आधारमा क्षेत्रअनुसार निर्धारण गरिएको छ। विगतका वर्षमा जिल्लाभर एउटै समयसीमा लागू हुँदै आएकोमा यसवर्ष भने सुरक्षा संवेदनशीलता र स्थानीय अवस्थालाई हेरेर फरक–फरक समय तोकिएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीले औपचारिक सूचना जारी नगरे पनि सुरक्षा अवस्थाको विश्लेषण गरी सुरक्षाकर्मीलाई सोहीअनुसार परिचालन र निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार सुरक्षा संवेदनशील रहेका क्षेत्रमा राति ९ बजेदेखि १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइनेछ। त्यस्तै, गाउँघर तथा शान्त वातावरण भएका क्षेत्रमा राति १० बजेदेखि ११ बजेसम्म देउसी–भैलो खेल्न दिइने व्यवस्था गरिएको छ।
तर, देउसी–भैलोका क्रममा कुनै क्षेत्रमा झैझगडा, अराजक गतिविधि वा अशान्ति भए त्यस्ता स्थानमा साँझ ७ बजेदेखि नै कार्यक्रम बन्द गराइने प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी रेग्मीले स्थानीय गतिविधि र सुरक्षा अवस्थाका आधारमा सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिइएको बताए।
तिहारका बेला हुन सक्ने सम्भावित झैझगडा तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सबै क्षेत्रमा एउटै समयसीमा लागू नगरी फरक व्यवस्था गरिएको प्रशासनले जनाएको छ।