एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर
धनगढी: अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन् ।
काठमान्डु गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका हुन् । केसीले वार्नरको योगदानको प्रशंसा गर्दै सुरक्षित यात्राको शुभकामना दिएका छन् । साथै, आगामी दिनमा पुनः भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन् ।
वार्नरले एनपीएलमा काठमान्डु गोर्खाजका लागि चार खेल खेल्दै कुल १२७ रन बनाएका थिए । संयोगवश उनले खेलेका चारवटै खेलमा काठमान्डु गोर्खाज विजयी भएको थियो ।