धनगढी-अत्तरिया रुटमा आज निःशुल्क बस सेवा
धनगढीः भाइटीकाको दिन कैलालीको डोकेबजारदेखि अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको समन्वय तथा नवजीवन अस्पताल प्रालिको सहकार्यमा आज दिनभर निःशुल्क बस सेवा सञ्चालन गर्न भइरहेको हो।
भाइटीकाका दिन यात्रुहरूलाई सहज आवागमनको व्यवस्था मिलाउने उद्देश्यले सेवा सञ्चालन गरिएको जनाइएको छ।
यसैबीच, प्रहरीले सवारी चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी नचलाउन र तीव्र गतिमा सवारी नचलाउन आग्रह गरेको छ। सुरक्षित यात्रा गर्न तथा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन पनि प्रहरीले अनुरोध गरेको छ।